सानिगाड हाइड्रो लिमिटेडले आज (चैत ८ गते)देखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै आईपीओ जारी गरेको हो।
कम्पनीले जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात ८५ करोड ५० लाख रुपैयाँ बराबरका ८५ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ। यसमध्ये २८ करोड ५० लाख रुपैयाँ बराबरका २८ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।
आयोजना प्रभावित क्षेत्रअन्तर्गत सुदूरपश्चिम प्रदेश, बझाङ जिल्ला को बुंगल नगरपालिका वडा नं. १, २ र ४ का बासिन्दालाई १८ लाख ५२ हजार ५०० कित्ता (अति प्रभावित क्षेत्र) बाँडफाँट गरिनेछ भने बाँकी ९ लाख ९७ हजार ५०० कित्ता वडा नं. ३, ५, ६, ७, ९, १० र ११ का बासिन्दालाई वितरण गरिनेछ।
यस्तै, सर्वसाधारणतर्फ छुट्याइएको शेयरमध्ये १० प्रतिशत अर्थात ५ करोड ७० लाख रुपैयाँ बराबरका ५ लाख ७० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ। सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेका नेपालीले उक्त शेयरमा आवेदन दिन सक्नेछन्।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित स्थानीयका लागि निष्काशन छिटोमा चैत २२ गते र ढिलोमा २०८३ बैशाख ७ गतेसम्म खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गतेसम्म आवेदन दिन सकिनेछ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड नियुक्त गरिएको छ। स्थानीय बासिन्दाले लक्ष्मी सनराइज बैंक को चैनपुर शाखा, ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक का बझाङ शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, पावरहाउस वीरावगर, बुंगलबाट समेत आवेदन दिन सकिनेछ र फाराम प्राप्त गर्न २ रुपैयाँ शुल्क लाग्नेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्ड बाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत ‘सी–आस्बा’ प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।
कम्पनीले ३८.४६ मेगावाट क्षमताको माथिल्लो कालंगागाड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। आयोजनाको कुल लागत ८ अर्ब ६८ करोड ७० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत करिब २२ करोड ५८ लाख रुपैयाँ रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अझै २५ वर्ष ३ महिना बाँकी रहेको छ। साधारण लगानी फिर्ता अवधि ८.२५ वर्ष र डिस्काउन्टेड फिर्ता अवधि १४.६९ वर्ष रहेको छ।
कम्पनीको क्रेडिट रेटिङ इक्रा नेपाल ले ‘इक्रएनपी डबल बी माइनस’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।




