वाणिज्य बैंकद्वारा फागुनमा मुद्दति निक्षेपको ब्याजदर घटाइयो

णिज्य बैंकहरूले फागुन महिनाका लागि व्यक्तिगत तथा संस्थागत मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले फागुन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका हुन्।

माघ महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर ४.६८४५ प्रतिशत रहेकोमा फागुनमा ०.११५५ प्रतिशत विन्दुले घटेर ४.५६९ प्रतिशतमा झरेको छ। संस्थागत मुद्दति निक्षेपतर्फ अधिकतम औसत दर ०.०५१५ प्रतिशत विन्दुले घटेको छ।

फागुनका लागि ९ वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। तीमध्ये ग्लोबल आइएमई बैंक ले सबैभन्दा धेरै ०.७५ प्रतिशत विन्दुले दर घटाएको छ। माघमा ५.५ प्रतिशत रहेको उक्त बैंकको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम दर फागुनमा ४.७५ प्रतिशतमा झरेको छ।

त्यस्तै ११ बैंकहरूले भने माघकै दरलाई निरन्तरता दिएका छन्। ब्याजदर स्थिर राख्ने बैंकहरूमा नेपाल बैंक, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया बैंक, एनएमबि बैंक, प्रभु बैंक, नबिल बैंक, माछापुछ्रे बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, लक्ष्मी सनराइज बैंक र कुमारी बैंक रहेका छन्।

व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याजदर नेपाल बैंक ले ५.१ प्रतिशत दिने भएको छ।

सबैभन्दा कम दर भने स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक, नेपाल एसबिआई बैंक, एभरेष्ट बैंक र सिद्धार्थ बैंक को ४.२५ प्रतिशत रहेको छ।

संस्थागत मुद्दति निक्षेपतर्फ अधिकतम ब्याजदर ४ प्रतिशत कायम गरिएको छ। यो दरमा हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया बैंक र एनएमबि बैंक ले ब्याज दिनेछन्।