पाल्पा सिमेन्टको आईपीओ फागुन १२ देखि, सर्वसाधारणका लागि ४५ लाख कित्ता खुला

पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि फागुन १२ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने भएको छ। कम्पनीले सर्वसाधारण समूहका लागि ४५ लाख कित्ता साधारण सेयर बिक्रीमा ल्याउन लागेको हो।

कुल निष्कासनमध्ये २ लाख ८१ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि र समान २ लाख ८१ हजार २५० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ। बाँकी सेयरमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।

आईपीओमा आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखामार्फत दिन सकिनेछ भने ‘मेरो सेयर’ प्रणालीबाट अनलाइन आवेदनको व्यवस्था गरिएको छ। निष्कासन छिटोमा फागुन १५ गते बन्द हुने र माग बढी परेमा ढिलोमा फागुन २६ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ।

यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। कम्पनीले धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो। स्वीकृतिअनुसार पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि सेयर जारी गरिसकिएको छ।

अब सर्वसाधारणका लागि खुला हुन लागेको यो आईपीओप्रति बजारको चासो उच्च रहने अनुमान गरिएको छ।