विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (पुस २१ गते) देखि सर्वसाधारणका लागि थप सार्वजनिक निष्कासन (एफपीओ) खुला गर्ने भएको छ। संस्थापक र सर्वसाधारण शेयरधनीको स्वामित्व अनुपात ७०ः३० कायम गर्न एफपीओ निष्कासन गर्न लागिएको हो।
नयाँ सारथी लघुवित्त र विजय लघुवित्तको मर्जरपछि कम्पनीको चुक्ता पूँजी ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ पुगेको थियो। त्यसबेला संस्थापक र सर्वसाधारणको स्वामित्व अनुपात ७४.३९ः२५.६१ रहेको थियो। सो अनुपात समायोजन गर्न कम्पनीले ४ लाख ६६ हजार ८१७ कित्ता साधारण शेयर एफपीओमार्फत निष्कासन गर्न लागेको हो। यो एफपीओको कुल मूल्य ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ रहेको छ।
प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा निष्कासन हुने यो एफपीओको बिक्री छिटोमा पुस २४ गते बन्द हुनेछ भने ढिलोमा माघ ५ गतेसम्म खुला रहनेछ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
एफपीओ निष्कासनका लागि इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग बी एट’ प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले आस्बा सेवा प्राप्त बैंक तथा वित्तीय संस्था र ‘मेरो शेयर’ अनलाइनमार्फत सि–आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन्।





