पछिल्लो चार दिनमा सुन–चाँदीको भाउमा ठूलो गिरावट

 पछिल्लो चार दिनयता नेपाली बजारमा सुन र चाँदीको मूल्य उल्लेख्य रूपमा घटेको छ। यस अवधिमा सुन तोलामा ११ हजार रुपैयाँले घट्दा चाँदीको मूल्य ४२० रुपैयाँले ओरालो लागेको छ।

आइतबार तोलाको २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य आज बिहीबार घटेर २ लाख ५९ हजार ६०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज मात्रै सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले घटेको हो। हिजो बुधबार सुनको मूल्य तोलाको २ लाख ६१ हजार रुपैयाँ कायम थियो।

यस्तै, आइतबार तोलाको ४ हजार ८३५ रुपैयाँ रहेको चाँदीको मूल्य आज घटेर ४ हजार ४१५ रुपैयाँमा झरेको छ।

सुन–चाँदीको मूल्यमा आएको यस गिरावटलाई बजार करेक्सनका रूपमा हेर्न थालिएको छ। जानकारहरूका अनुसार लगानीकर्ताहरूले नाफा बुक गर्न थालेपछि पछिल्लो दिनहरूमा मूल्य घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्म सुन्दर बज्राचार्यका अनुसार उच्च मूल्यमा खरिद गरिएको सुन बिक्री गरेर लगानीकर्ताहरू नाफा सुरक्षित गर्न लाग्दा करेक्सन आएको हो।

उनले भने, “लगानीकर्ताहरू प्रोफिट बुकिङतर्फ लागेकाले करेक्सन देखिएको हो। २ लाख ४० हजारदेखि ५० हजार रुपैयाँको आसपासमा सुन खरिद गरेका ग्राहकहरूले नाफा बुक गर्दै बिक्री गर्न थालेपछि मूल्य घटेको मेरो बुझाइ छ।”