सोलु हाइड्रोपावर लिमिटेडले आज आइतबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि गरी कुल एक करोड दश लाख कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्दैछ।
कम्पनीले दश अर्ब रुपैयाँ जारी पूँजीको बीस प्रतिशत अर्थात दुई अर्ब बराबरको दुई करोड कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएकोमा त्यसको आधा अर्थात एक करोड कित्ता आयोजना प्रभावित स्थानीयका लागि र दश लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको हो।
स्थानीयतर्फ सोलुदूधकुण्ड नगरपालिकाको वडा नम्बर सात र एघार तथा थुलुङ दूधकोशी गाउँपालिकाको वडा नम्बर एकका बासिन्दालाई अति प्रभावित मान्दै चालिस लाख कित्ता र बाँकी वडाका बासिन्दालाई साठी लाख कित्ता छुट्याइएको छ। प्रतिकित्ता अंकित मूल्य एक सय रुपैयाँ रहेको यो शेयरमा न्यूनतम दश कित्ता र अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सकिनेछ।
स्थानीयका लागि निष्कासन छिटोमा मंसिर एक्काइस गते र ढिलोमा पुस सात गते बन्द हुनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छिटोमा मंसिर दस गते र ढिलोमा मंसिर एक्काइस गतेसम्म आवेदन खुला रहनेछ।
स्थानीयले ग्लोबल आइएमई बैंकको सल्लेरी शाखा, लक्ष्मी सनराइज बैंकको नेले शाखा र आयोजनास्थल तिङ्लाबाट फाराम बुझाउन सक्नेछन् भने फाराम शुल्क दुई रुपैयाँ लाग्नेछ। वैदेशिक रोजगारीमा रहेकाले बोर्डबाट स्वीकृत सबै सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट अनलाइन आवेदन दिन सक्नेछन्।
कम्पनीले निर्माण गरिरहेको बयासी मेगावाटको तल्लो सोलु जलविद्युत् आयोजनाको कुल अनुमानित लागत सोह्र अर्ब तीस करोड चालिस लाख रुपैयाँ रहेको छ। आयोजनाको विद्युत् अनुमतिपत्रमा पच्चीस वर्ष बाँकी छ भने लगानी फिर्ता अवधि सात दशमलव अठसट्ठी वर्ष र डिस्काउन्टेड अवधि बाह्र दशमलव शून्य नौ वर्ष रहेको कम्पनीले जनाएको छ।
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई आइआरएन डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ। शेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।




