शेयर बजारमा भारी गिरावट, कारोबार अंक पनि घट्यो

यस साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा उच्च गिरावट आएको छ । गत बिहिबार ११.२९ अंकले घटेको नेप्से परिसूचक आज ३०.०२ अंकले घटेको हो । नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि घटेको छ।

आइतबार नेप्से परिसूचक ३०.०२ अंक घटेर २५६६.०९ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.९० अंक घटेको छ भने फ्लोट इण्डेक्स २.४२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२१ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। गत विहीबार ५ अर्ब ४१ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा आज ४ अर्ब ९० करोड ७६ लाख २४ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक २.९१ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग, विकास बैंक, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।

यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन दरमखोला हाइड्रो इनर्जी, माबिलुङ्ग इनर्जी र सागर डिष्टिलरीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २७ करोड ७६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।