शेयर बजार भोलि मात्र खुल्ने

लगातारको भारी वर्षाका कारण सरकारले असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय गरेसँगै  बन्द रहेको शेयर बजार असोज २१ गते मंगलबारदेखि संचालनमा आउने भएको छ । नेप्सेले एक सूचना जारी गरी मंगलबारदेखि दोस्रो बजार कारोबार खुला रहने जनाएको छ ।

काठमाडौं जिल्लाका सबै प्रकारका कार्यालय आज सोमबारबाट खुल्ने भएपनि शेयर बजार भने भोलिबाट मात्र खुल्ने भएको हो । मौसममा सुधार आएकाले सरकारले दिएको बिदामा एक दिन कटौती गर्दै सबै प्रकारका कार्यालय सञ्चालनका लागि निर्देशन दिएको हो ।तर, शेयर कारोबार भने भोलिदेखि मात्र संचालनमा आउने नेप्सेले जनाएको छ ।

दशैंको लामो बिदापछि आइतबारदेखि नियमित कारोबार सुरु हुने अपेक्षा गरिएको शेयरबजार, मौसमजन्य विषम परिस्थितीका कारण पुनः बन्द भएको हो । सरकारले देशभर प्रभाव पारेको अविरल वर्षालाई ध्यानमा राख्दै वित्तीय संस्था, सरकारी कार्यालय र शैक्षिक संस्था समेत दुईदिनका लागि बन्द गर्ने निर्णय गरेको थियो ।

यसअघि लगानीकर्ताले दशैंपछिको कारोबारमा बजार सक्रिय हुने र कारोबारको मात्रा वृद्धि हुने अपेक्षा गरेका थिए । तर लगातारको अवरोधका कारण लगानीकर्तामा अनिश्चितता बढेको छ । यद्यपी, विज्ञहरुले भने छोटो अवधिका लागि कारोबार रोकिनुले बजारमा ठूलो नकारात्मक असर नपर्ने बताउँदै आएका छन् ।

तर लगानीकर्ताको मनोबल भने प्रभावित भएको छ । लगातार बिदा र अस्थिर मौसमका कारण बजार खुल्नेबित्तिकै कारोबारमा सुरुवाती दिनमा उतारचढाव देखिने सम्भावना रहेको उनीहरूको आँकलन छ ।