साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि लगातार ओरालो लाग्दै आएको नेप्सेले आइतबार पनि सोही प्रवृत्तिलाई निरन्तरता दिएको हो।
आइतबार नेप्से परिसूचक १८.०२ अंकले घटेर २,७३९.९५ विन्दुमा झरेको छ। यद्यपि, परिसूचक घटे पनि कारोबार रकममा भने वृद्धि भएको छ। बिहीबार ५ अर्ब २ करोड रुपैयाँको शेयर कारोबार भएको बजारमा आइतबार ३२३ कम्पनीका ५८,१०५ पटकको कारोबारमा ६ अर्ब ५४ करोड ८६ लाख ३८ हजार रुपैयाँ बराबरको १ करोड ४० लाख ९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आइतबार विकास हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको शेयरमूल्य ३५.३० रुपैयाँले बढेर ३८८.७० रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ४.५ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। अन्य बढेका कम्पनीहरूको शेयरमूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ।
यता, नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य भने सर्वाधिक ७.२९ प्रतिशतले घटेको छ, जुन दिनको सबैभन्दा ठूलो गिरावट हो।
कारोबार रकमका आधारमा हिमालयन डिष्टिलरी लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको १ अर्ब ७५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। दोस्रो स्थानमा रहेको नेपाल पुनर्बीमा कम्पनीको २४ करोड ५० लाख रुपैयाँको शेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ।
आइतबार १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.१५ प्रतिशतले बढेको छ। बाँकी १२ उपसमूहको परिसूचक भने घटेको छ। विकास बैंक उपसमूहको परिसूचक १.६९ प्रतिशतले घटेर सबैभन्दा धेरै ओरालो लागेको छ। त्यस्तै, जलविद्युत उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले घटेको छ।





