कर्णाली विकास बैंक घोटाला प्रकरणमा एक सय ११ जनाको प्रत्यक्ष संलग्नता

कर्णाली विकास बैंक घोटाला प्रकरणमा एक सय ११ जनाको प्रत्यक्ष संलग्नता रहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले निष्कर्ष निकालेको छ । उक्त बैंक घोटाला प्रकरणमा लामो अनुसन्धान गरेको सीआईबीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको बताइएको छ । उक्त प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालयले उच्च अदालत नेपालगञ्जमा मुद्दा दर्ता गर्ने तयारी गरेको स्रोतले जानकारी दिएको छ ।

यति ठूलो घोटाला प्रकरणमा प्रहरीले चार जनालाई मात्र पक्राउ गरेको छ । पछिल्लोपटक सीआईबीले राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेतलाई पक्राउ गरेको थियो । बस्नेतअघि सीआईबीले तत्कालीन अध्यक्ष पशुपति दयाल मिश्र, वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर रायलाई पक्राउ गरेको थियो ।

मिश्र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा बाँके–२ बाट एमालेको सूर्य चिह्न लिएर स्वतन्त्र उम्मेदवार बनेका थिए । उनीसँगै स्वतन्त्र उम्मेदवार बनेका हृदयेश त्रिपाठीले भने सूर्य चिह्न नै लिएर नवलपरासीबाट निर्वाचन जितेका थिए । मिश्र पछि नेकपा एमाले प्रवेश गरेर सांसद र नगरको मेयरको पनि उम्मेदवार बनेका थिए । तर, उनी सबै निर्वाचनमा पराजित भएका थिए ।

एमालेबाटै गत निर्वाचनमा सल्यान जिल्लाबाट सांसद उम्मेदवार बनेका रायको कर्णाली विकास बैंकमा करिब ८० प्रतिशत संस्थापक सेयर छ । उनी बैंक स्थापनादेखि नै कार्यकारी अध्यक्ष तथा सीईओका रूपमा करिब १५ वर्षसम्म कार्यरत थिए । सीआईबीले एक सय ११ जनाको नाम कारबाहीको लिस्टमा राखेपछि यसमा को–को तानिने हुन् भन्नेबारे हलचल पैदा भएको छ ।