सेयर बजारमा झण्डै ४४ अंकले गिरावट

यो साता कारोबार भएका सबै दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गिरावट आएको छ। साताभर चार दिन कारोबार हुँदा सेयर बजारमा झण्डै ४४ अंकले गिरावट आएको हो।

साताको अन्तिम कारोबार दिन सेयर बजारमा ७.३७ अंकले गिरावट हुँदै २६१२ विन्दु कायम भएको छ। यसअघि कारोबार भएको तीन दिन सेयर बजार ३६ अंकले गिरावट भएको थियो। 

जसमा साताको पहिलो दिन आइतबार ११ अंकले गिरावट भएको सेयर बजार मंगलबार १४.२४ अंकले गिरावट भएको थियो। बुधबार सेयर बजार सूचक १४ अंकले गिरावट भएको हो।

साताभर गिरावट आएको सेयर बजारमा कारोबार रकममा पनि भारी गिरावट आएको छ। आइतबार झण्डै ११ अर्ब बराबरको कारोबार हुँदा बिहीबार झण्डै सात अर्ब बराबरको सेयर कारोबार भएको छ।

बिहीबार कूल ८२ कम्पनीको सेयर मूल्य बढ्दा १६४ वटा कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ। यस्तै, एउटा कम्पनीको सेयर मूल्य स्थिर भएको छ।

यस दिन होटल तथा पर्यटन सेक्टर सबैभन्दा धेरै ४.९१ प्रतिशत बढेको छ । होटल तथा पर्यटन सेक्टरका कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण सन्तोषजनक छ । साथै व्यापार ०.७० प्रतिशत बढ्यो ।

विकास बैंक सेक्टर सबैभन्दा धेरै २.१२ प्रतिशत घट्यो । बैंकिङ ०.३०, फाइनान्स ०.७९, हाइड्रोपावर ०.६५, लगानी ०.०४, जीवन बीमा ०.४१, उत्पादन ०.४५, माइक्रोफाइनान्स ०.०६, निर्जीवन बीमा ०.४० तथा अन्य १.१४ प्रतिशत घटे ।

ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य १० प्रतिशत बढ्यो । उपकार लघुवित्तको ९.६२, बाराही हाइड्रोपावरको ८.९४, सोल्टी होटलको ८.०५, नेपाल माइक्रोइन्स्योरेन्सको ५.२४ प्रतिशत मूल्य बढ्यो ।

कर्पोरेट डेभलपमेन्ट बैंकको ८.६५, जोशी हाइड्रोपावरको ७.०६, ग्रिन डेभलपमेन्ट बैंकको ५.९८, सिन्धु विकास बैंकको ५.६९ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा सोल्टी होटल, राधि विद्युत्, युनिभर्सल पावर, ङादी ग्रुप र सानिमा माइ हाइड्रोपावर क्रमशः अगाडि रहे ।