एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुलाई स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न आग्रह गरेको छ। बैंकका अनुसार “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको प्यान प्रणालीमा आवद्ध हुन खातामा प्यान नम्बर अद्यावधिक अनिवार्य छ। यसले ग्राहकको खाताबाट हुने करकट्टीको विवरणलाई नियमानुसार अद्यावधिक गर्न मद्दत पुर्याउनेछ।
ग्राहकले प्यान नम्बर अद्यावधिकका लागि बैंकको पोर्टलमा (pannupdate.nicasiabank.com) वा मोबाइल बैंकिङ्ग एपमा उपलब्ध प्यान अपडेट विकल्प प्रयोग गर्न सकिने छ। साथै, पायक पर्ने बैंकका कुनै पनि शाखा कार्यालयबाट पनि प्यान अद्यावधिक गर्न आवेदन दिन सकिने सुविधा बैंकले प्रदान गरेको छ।
बैंकले भनेको छ कि “बैंकबाट निक्षेपको ब्याज भुक्तानीका लागि कटिएको करलाई इ टीडीएस प्रणालीमा समावेश गर्न प्यान नम्बर अद्यावधिक अनिवार्य छ। प्यान अद्यावधिकपछि करकट्टी विवरण स्वचालित रुपमा प्रणालीमा प्रविष्ट हुने हुँदा ग्राहकहरुले करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र सहजै प्राप्त गर्न सक्नेछन्। यसले बैंकमा पुगेर प्रमाणपत्र लिनुपर्ने झन्झटको अन्त्य हुने बैंकको विश्वास छ।”
साथै, पहिल्यै प्यान नम्बर उपलब्ध गराएका ग्राहकहरुले पनि करकट्टीको विवरणमा समस्या भएमा नजिकैको शाखामा वा ग्राहक सम्पर्क केन्द्र (१६६०–०१–७७७७१, ०१–५९७०१०१) मा सम्पर्क गर्न सकिने बैंकले जानकारी गराएको छ।





