राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधि सभा निर्वाचनमा भएको आफ्नो खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन्।
चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका लामिछानेले चुनाव अवधिभर कूल नौ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च भएको जानकारी आयोगलाई दिएका हुन्।
आयोगमा पेस गरिएको विवरण अनुसार उनले विभिन्न शीर्षकमा खर्च गरेका छन् जसमा सबैभन्दा बढी रकम गोष्ठी तथा भेला आयोजनामा खर्च भएको देखिएको छ।
लामिछानेले गोष्ठी र भेलाका लागि एक लाख ८० हजार रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् भने नमुना मतपत्र छपाइका लागि ६८ हजार १६१ रुपैयाँ खर्च गरेका छन्।
त्यसैगरी उम्मेदवारी मनोनयन दर्ताका लागि १० हजार रुपैयाँ र हवाई यात्राका क्रममा १३ हजार ६२६ रुपैयाँ खर्च भएको विवरणमा जनाइएको छ।
निर्वाचन आयोगले तोकेको खर्चको सीमाभित्रै रहेर उनले यो विवरण सार्वजनिक गरेका हुन्।






