नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले २८ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउन बैंक तथा वित्तीय संस्थासँग प्रस्ताव मागेको हो।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर बोलकबोल (अक्सन) प्रणालीबाट निर्धारण गरिनेछ। यसअन्तर्गत संकलित रकमको साँवा तथा ब्याज भुक्तानी २०८२ चैत २५ गते गरिनेछ।
बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँदेखि प्रस्ताव पेस गर्न सक्नेछन् भने ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र दिन सक्ने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकका अनुसार यसमा बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ। प्रस्तावहरूको मूल्यांकन गर्दा सबैभन्दा कम ब्याजदर प्रस्तावलाई पहिलो प्राथमिकता दिँदै आह्वान गरिएको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ।
केन्द्रीय बैंकले संकलन गरेको रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ। त्यसैले उक्त रकमलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न नपाइने राष्ट्र बैंकले जनाएको छ।





