चन्द्रागिरीमा महाशिवरात्रि भजनउत्सव हुने

पोखराको चर्चित युवा भजन समूहसहितको महाशिवरात्रि भजन उत्सव चन्द्रागिरी भालेश्वर महादेव मन्दिरमा आयोजना हुने भएको छ ।

आइतवार महाशिवरात्रिको पावन अवसरमा भालेश्वर महादेव मन्दिर प्राङ्गण, चन्द्रागिरीमा दिनभरि महाशिवरात्रि विशेष भजन उत्सव आयोजना हुने भएको हो ।

यस उत्सवमा भजन संस्कृतिलाई नयाँ उचाइ दिइरहेका पोखराको युवा भजन समूहको समेत दिउसो २ देखि ५ बजेसम्म विशेष भजन प्रस्तुती हुने छ । उत्तम बराल र जुपिटर पौडेलसहितको भजन समूहले प्रस्तुत गर्ने भजनमा सहभागी हुँदै भजन गर्ने तथा श्रवण गर्दै सहभागीहरूले आध्यात्मिक अनुभव लिन सक्ने छन् ।

साँझ शिव धुनीसँगै महाआरती ग्रहण गर्ने अवसर पनि प्राप्त हुने जानकारी दिइएको छ ।

महाआरती ग्रहण गर्न आउने भक्तजनहरूका लागि चन्द्रागिरी केबलकारले साँझ साढे ४ बजेपछि ५० प्रतिशत छुट प्रदान गर्ने भएको बताइएको छ । महाशिवरात्रि एवं महाआरतीमा सहभागी हुने भक्तजनहरूको सुविधा ध्यानमा राख्दै केबलकार पनि साँझ ८ बजे सम्म सञ्चालनमा रहने छ ।

चन्द्रागिरीमा अवस्थित भालेश्वर महादेवको महिमा र धार्मिक–सांस्कृतिक पहिचानलाई अझ सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको यस उत्सवमा श्रद्धालु भक्तजन र भजन संगीतप्रेमी सम्पूर्णले महाशिवरात्रिको अलौकिक आनन्द लिन सक्ने बताइएको छ ।

भजन संगीत र आध्यात्मिक ऊर्जासँग भालेश्वर महादेवको दर्शन गर्दै यस वर्षको महाशिवरात्रि विशेष बनाउन चन्द्रागिरि हिल्सले आग्रह पनि गरेको छ ।