धेरै मतदाता र ६० निर्वाचन क्षेत्र भएकाले कोशी र मधेश प्रदेश यसपटकको प्रतिनिधिसभा निर्वाचनका निर्णायक केन्द्र बनेका छन् ।
झन् यी दुई प्रदेशबाट तीन जना भावी प्रधानमन्त्रीका दाबेदार चुनावी मैदानमा उत्रिएपछि सिंगो देशको ध्यान यतै केन्द्रित भएको छ ।
कोशी प्रदेशको झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाहबीच प्रतिष्ठाको टक्कर हुँदै छ ।
परम्परागत बलियो क्षेत्रमा बालेनको चुनौतीले ओली दबाबमा देखिएका छन् ।
जेनजी मतदाता र परिवर्तनको चाहनाले झापा–५ लाई ‘इलेक्सन इपिसेन्टर’ बनाएको विश्लेषकहरूको भनाइ छ ।
उता मधेश प्रदेशमा कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार बनेपछि राजनीतिक सरगर्मी बढेको छ ।
मधेशका मतदातालाई निर्णायक ठानेर प्रमुख दलहरू आक्रामक रणनीतिमा देखिएका छन् ।
गगनसँगै उपेन्द्र यादव, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अमरेश सिंह, सिके राउतलगायत शीर्ष नेताको उपस्थितिले मधेश बहुकेन्द्रित प्रतिस्पर्धाको थलो बनेको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार जेनजी आन्दोलनपछि कुनै पनि क्षेत्र कसैको सुरक्षित गढ छैन ।
मतदाता संरचना, युवा आकर्षण र नेतृत्वको प्रतीकात्मक उपस्थितिका कारण कोशी र मधेशले यसपटक समग्र निर्वाचन परिणामको दिशा तय गर्ने सम्भावना छ ।





