अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई सरकार छाड्न सुझाव दिएकी छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले घिसिङलाई सरकारमा रहेर चुनावी वातावरण बनाउने काम राम्रो गरेको भन्दै अब पार्टीको काममा लाग्न र चुनावमा जाने सुझाव दिएको स्रोतले बतायो । ‘समयमै चुनावको वातावरण बनाउने काममा सरकारमा बसेर तपाईंले राम्रो गर्नुभएको छ, अब चुनावमा जाने र पार्टीको काममा लाग्ने भए जाँदा हुन्छ भनेर प्रधानमन्त्रीज्यूले सुझाव दिनुभएको हो,’ स्रोतले मकालुखबरसँग भन्यो ।
कुलमान घिसिङले उज्यालो नेपाल पार्टी खोल्ने बेला राजीनामा दिन खोजेका थिए । तर त्यतिबेला प्रधानमन्त्री कार्कीले नै थालेका कामहरू सकेर मात्र भनेर रोकेकी थिइन् । उक्त पार्टीमा घिसिङ संरक्षक मात्र बनेका थिए । तर पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति हुने गरी सहमति भएपछि सरकारमा उनको बसाइलाई लिएर मन्त्रिपरिषद्भित्रै र बाहिर प्रश्न उठेको थियो ।
चुनावका लागि बनेको गैरदलीय अन्तरिम सरकारमा राजनीतिक दलको नेतृत्व तहमा पुगेको व्यक्ति रहनु राम्रो नहुने भन्दै मन्त्रीहरूले नै प्रधानमन्त्रीलाई सुझाव दिएको स्रोतले बतायो । मन्त्रिपरिषद्भित्र मात्र होइन, बाहिर पनि प्रश्न उठेपछि प्रधानमन्त्री कार्कीले घिसिङलाई सरकार छोड्न सुझाव दिएकी हुन् ।
घिसिङ रास्वपाको उपसभापति बन्ने सहमति भएको छ । तर उनले अझै रास्वपाको शपथ लिएका छैनन् । घिसिङ खुला रूपमा राजनीतिमा लागेपछि अन्य मन्त्रीहरूको पनि राजनीतिक दलबाट चुनाव लड्ने चर्चा छ । तर अन्य मन्त्रीहरूले खुला रूपमा चुनाव लड्ने÷नलड्ने बारे स्पष्ट पारेका छैनन् ।
जेनजी आन्दोलनपछि गठित यो अन्तरिम सरकारले आगामी फागुनमा प्रतिनिधिसभा निर्वाचन गराउने जिम्मेवारी पाएको छ ।





