शिक्षामन्त्री पुनको आक्रोश : कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैली र प्रक्रियाप्रति कडा असन्तुष्टि व्यक्त गर्दै सामाजिक सञ्जालमा आफ्नो आक्रोश पोखेका छन्। देशको प्रशासनिक काम गर्ने तरिका कछुवाको गतिभन्दा पनि निकै ढिलो रहेको उल्लेख गर्दै उनले यसले सुशासन र समृद्धिको यात्रामा अवरोध पुर्‍याएको बताएका हुन्। 

आफ्नो छोटो कार्यकालमा देशको हितका लागि केही काम अगाडि बढाउन खोज्दा भोग्नुपरेका तीता अनुभवहरूलाई उनले सार्वजनिक गरेका छन्। उनले कर्मचारीतन्त्रको सुस्तताले गर्दा सोचेअनुसार काम हुन नसकेको सङ्केत गरेका छन्।

मन्त्री पुनले सुस्त प्रशासनिक गतिलाई मात्र नभई प्रणालीभित्रै रहेका स्वार्थी समूहलाई समेत प्रहार गरेका छन्। उनले कछुवा गतिको प्रक्रियालाई पनि बिच-बिचमा ‘कृपावादी पापी समूह’हरूले अल्झाउने गरेको आरोप लगाएका छन्। यस्ता समूहहरूले गर्दा काम अगाडि बढ्न नसकेको र देशमा प्रगति र सुशासन कायम हुन कठिन भएको उनको तर्क छ। आफ्नो सुधारको प्रयासमा यस्ता तत्त्वहरू बाधक बनेको भन्दै उनले वर्तमान कार्यप्रणालीमाथि गम्भीर प्रश्न उठाएका छन्।

उनले लेखेका छन् :

प्रस्टसँग सोझै भन्नु पर्दा नेपालको प्रशासनिक काम गर्ने तरिका र प्रक्रिया कछुवाको गति भन्दा पनि धेरै नै कम रहेछ । त्यही कछुवा गतिलाई पनि अझै कृपावादी पापी समूहहरूले बिच बिचमा अल्झ्याएर अगाडि बढ्न नदिने रहेछन्। अनि कसरी हुन्छ त देशमा सुशासन, प्रगति र समृद्धि ? छोटो कार्यकालमा देशको हितमा केही काम अगाडि बढाउन कोसिस गर्दाको अनुभव हो यो ।