मुक्तिनाथ क्षेत्रमा हिमपात: यात्रामा ननिस्किन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङको मुक्तिनाथ मन्दिर क्षेत्र लगायत उपल्लो मुस्ताङमा हिमपात भएको छ । वर्षा भएसँगै गएरातिदेखि मुस्ताङमा हिमपात भइरहेको हो ।

हिमपात भइरहेकाले जिल्ला प्रशासन कार्यालय मुस्ताङले विज्ञप्ति जारी गर्दै यात्रामा ननिस्किन पदयात्रीलाई आग्रह गरेको छ ।

मुस्ताङका उच्च हिमाली क्षेत्र, मुस्ताङ–डोल्पा, याकखर्क क्षेत्र, मनाङ–मुस्ताङ थोरङ्लापास, मुस्ताङ–मनाङ सरिबुङ पास र मुस्ताङ–म्याग्दीको धौलागिरि पदमार्गको धम्पुस पिक लगायतका क्षेत्रहरूमा भारीदेखि हल्का हिमपात हुने मौसम विभागको प्रक्षेपण छ ।

त्यसैले उक्त क्षेत्र भएर पदयात्रा नगर्न/नगराउन अनुरोध गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए ।

मुस्ताङको अन्य भागमा समेत बुधबारसम्म हिमपात र वर्षाको सम्भावना रहेकाले पर्यटक तथा तीर्थयात्रीहरुलाई मौसम पूर्वानुमानसम्बन्धी जानकारी लिएर यात्रा गर्न भनिएको छ । तिहारको छेकोमा मुस्ताङसहित हिमाली क्षेत्रमा पदयात्रामा जाने ह्वात्तै बढेका छन् ।