उज्यालोको पर्व तिहारको पहिलो दिन काग तिहारका अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ ले राजधानीको नारायणहिटी दरबार सङ्ग्रहालयको मूलद्वार अगाडि ‘२२औँ काग सम्मेलन’ सम्पन्न गरेका छन्।
टप राजधानी रोधी र ग्रीनसिटी अस्पताल वसुन्धाराको सह-आयोजनामा भएको सो कार्यक्रममा दुलालले बिहान पौने ६ बजे विशेष कला प्रस्तुत गर्दै कागलाई आकर्षित गरेका थिए। उनले कागको आवाज निकाल्नासाथ दरबार परिसरमा कागहरू भेला भएका थिए।
बहुप्रतिभाका धनी दुलालले कागसहित १७३ प्रकारका जनावर र चराचुरुङ्गीको आवाज नक्कल गर्न सक्छन्। उनीसँग मुखको सहायताले मादल, सनाई, सारङ्गी, पियानो, ड्रम सेट, मुर्चुङ्गा र गितारको धुन निकाल्ने कला पनि छ।
दुलालका अनुसार, उनले काग तिहारको दिनमा विगत २२ वर्षदेखि यो ‘काग सम्मेलन’ गर्दै आएका छन्। कहिले रत्नपार्क, कहिले विमानस्थल परिसर त कहिले सामाजिक सन्देशसहित आयोजना हुने यो सम्मेलन यसपटक भने शुद्ध सांस्कृतिक उद्देश्यले आयोजना गरिएको उनले बताए। कागलाई यमराजको दूतका रूपमा मानिने धार्मिक र सांस्कृतिक परम्परालाई जोगाउन तथा जनचेतना जगाउन दुलालको यो प्रयासलाई दर्शकहरूले निकै सराहना गरेका थिए।
सो कार्यक्रमको मुख्य प्रायोजकमा मोर्डन राप्ती रियल स्टेट र भरत विश्वकर्मा रहेका थिए।




