महोत्तरीको सदरमुकाम जलेश्वरमा विजयादशमीको अवसरमा आयोजित रावण दहन कार्यक्रममा भएको बम विस्फोटमा परी पाँचजना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि जनकपुरधाम रिफर गरिएको छ ।
घटना शनिबार साँझ जलेश्वरस्थित शंकर चोकमा भएको हो । रावणको पुतलामा राखिएको बम पड्किँदा नजिकै रहेका दर्शकहरू घाइते भएका हुन् ।
घाइते हुनेहरूमा जलेश्वर नगरपालिका-८ का ४३ वर्षीय पवन पाठक, वडा नम्बर ४ मसुरपट्टीका ९ वर्षीय आनन्द पाठक, वडा नम्बर ३ खैराका १४ वर्षीय आलम राइन, वडा नम्बर २ का २० वर्षीय सुरज भण्डारी र वडा नम्बर १ का २२ वर्षीय मनीष चौधरी रहेका छन्। उनीहरूको टाउको, आँखा र गालामा चोट लागेको प्रादेशिक अस्पताल जलेश्वरले जनाएको छ ।
प्रादेशिक अस्पताल जलेश्वरमा सामान्य उपचारपछि अधिकांश घाइते डिस्चार्ज भएका छन् । तर, ९ वर्षीय आनन्द पाठकको आँखा मुनि गम्भीर चोट लागेकाले उनलाई थप उपचारका लागि जनकपुरधामस्थित आँखा अस्पतालमा रिफर गरिएको अस्पतालका प्रमुख डा. सतिश साहले जानकारी दिए ।
दुर्गा पूजा समिति शंकर चोकका अनुसार यस वर्ष रावणसँगै मेघनाथ र कुम्भकर्णका पुतला पनि दहन गरिएको थियो । प्रारम्भिक अनुसन्धानबाट रावणको पुतला नजिकै रहेका दर्शकहरूलाई पड्किएको बमको छर्रा वा कुनै कडा वस्तु लागेर घाइते भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।