दुर्गा प्रसाईं रिहा पछि बोले: “जे’लमा पनि छुट्टै नेपाल रहेछ, म त्यहाँ पनि रमाएँ”
काठमाडौं, २०८२ साउन २० — मेडिकल व्यवसायी र सामाजिक अभियन्ता दुर्गा प्रसाईं कारागारमुक्त भएका छन्। केही समयअघि पक्राउ परेका प्रसाईं सशर्त रिहा भएपछि मंगलबार पत्रकारहरूसँग प्रतिक्रिया दिँदै जेलभित्रको अनुभव साझा गरे।
रिहा भएसँगै सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रसाईंले भने, “जे’लमा पनि छुट्टै नेपाल रहेछ, युनिभर्सिटी जस्तो रहेछ। म जस्ता मान्छे जेल जानुपर्ने पनि रहेछ।”
उनका अनुसार जेलभित्र उनीहरूले अनुशासन, सहिष्णुता र आत्मचिन्तन जस्ता महत्वपूर्ण पाटाहरूमा आफूलाई अभ्यस्त बनाउन पाए। उनले भने, “त्यहाँ पनि ठूलो अनुशासन रहेछ, बुझेँ मैले। धेरै कुरा सिक्न पाएँ। म त जहाँ पनि रमाउने मान्छे, त्यहाँ पनि रमाएँ।”
प्रसाईंले जेलमा रहेका कैदीबन्दीहरूसँग राम्रो सम्बन्ध बनाएको र आफ्नो विदाइको बेला धेरै साथीहरू भावुक भएको उल्लेख गरे। “म छुट्दा त्यहाँका धेरै साथीहरू रोए। उनीहरूसँग आत्मीयता गाँसियो।” उनले भने।
प्रसाईंले जेललाई शिक्षा दिने एउटा अवसरको रूपमा बुझेका छन्। उनले भने, “मैले नेपाल र नेपालीका लागि यहाँ भन्दा बलिदान दिने ठाउँ छैन भन्ने महसुस गरेँ।”
उनले आफ्ना समर्थकहरू र आम नेपाली जनतालाई पनि चेतनशील हुन आह्वान गरे। “तपाईंहरू पनि जाग्नुस् भन्न चाहन्छु। अब हामी सबै मिलेर देश बनाउनु पर्छ,” प्रसाईंको भनाइ थियो।
दुर्गा प्रसाईंको रिहाइसँगै उनको पक्षमा समर्थन जनाउनेहरू सामाजिक सञ्जाल र सडकमा सक्रिय देखिएका छन्। यता, उनीमाथि लागेको मुद्दा अझै अदालतमा विचाराधीन रहेकाले आगामी दिनमा कानुनी प्रक्रिया कसरी अघि बढ्छ भन्ने प्रतीक्षा गरिएको छ।