चितवनको टिकौली जङ्गलमा ट्रक र ग्यास बुलेट ठोक्किँदा दुई जना घाइते

1000024072

चितवन, असार १३ – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चितवनको टिकौली जङ्गलमा ट्रक र ग्यास बुलेट एक आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। शुक्रबार बिहान घटेको यो दुर्घटनामा ट्रकका सहचालक र ग्यास बुलेटका चालक घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डीएसपी) रविन्द्र खनालका अनुसार, भरतपुरतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको ग्यास बुलेट (NL-01 N 0133) र विपरित दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख ३४१९ नम्बरको ट्रक एकआपसमा ठोक्किएका हुन्।

घाइते हुनेमा ट्रकका सहचालक राप्ती नगरपालिका–२ निवासी २४ वर्षीय प्रविन प्रजा र ग्यास बुलेट चालक भारत बिहार राज्यका ४५ वर्षीय जगदेव यादव रहेका छन्।

1000024070

घटनापछि घाइते प्रजालाई चितवन मेडिकल कलेज र यादवलाई पुरानो मेडिकल कलेज (भरतपुर अस्पताल) मा उपचारका लागि भर्ना गरिएको छ। प्रारम्भिक जानकारीअनुसार दुवैको अवस्था मध्यम छ र थप परीक्षण तथा उपचार भइरहेको बताइएको छ।

ट्रक चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि केही समय राजमार्ग अवरुद्ध भए पनि ट्राफिक प्रहरीको पहलमा केहीबेरमै सडक सञ्चालनमा ल्याइएको थियो।

1000024071