एन्फा महिला लिग फुटबल भोलिदेखि सुरु

9 22

आइतबारदेखि एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महिला लिग फुटबल हुने भएको छ ।

अखिल नेपाल फुटबल संघको आयोजनामा हुने खेल दिउँसो ३ बजे कोशी प्रदेश र वालिङ नगरपालिकाबीच हुनेछ । प्रतियोगितामा १० टीमको सहभागिता रहेको आयोजकले जनाएको छ । त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब, बाग्मती युथ क्लब, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको सहभागिता रहेको छ । प्रतियोगिताअन्तर्गत सिङ्गल राउन्ड रोबिनको आधारमा ४५ खेल हुनेछ । सिङ्गल राउन्ड रोबिनबाट उत्कृष्ट पाँच टीमबीच डबल राउन्ड रोबिनका आधारमा सुपर लिगमा २० खेल हुने एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

सुपर लिगका उत्कृष्ट चार टीमबीच क्वालिफायर, इलिमिनेटर र फाइनल गरी लिगमा कुल ६९ खेल हुने उनले बताए । प्रतियोगिताको विजेतालाई १० लाख र उपविजेतालाई ५ लाख नगद पुरस्कार प्रदान गरिनेछ । उत्कृष्ट खेलाडीलाई १ लाख, फेयर प्ले टीमलाई १ लाख ५० हजार, उत्कृष्ट गोलकिपर र उच्च गोलकर्तालाई समान ५०-५० हजार प्रदान गरिने प्रवक्ता शाहले बताए । प्लेयर अफ द म्याचलाई ५ हजार प्रदान गरिनेछ । प्रतियोगिताका खेलहरु एन्फा कम्प्लेक्स सातदोबाटो र दशरथ रंगशालामा खेलाइनेछ ।

समन्धित समाचार