दशैँको फूलपातीको दिन अर्थात असोज २४ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘ज्वाइँ साब’ को टीजर सार्वजनिक गरिएको छ । रमाइलो शैलीमा निर्माण गरिएको यो फिल्मको बुधवार सार्वजनिक टीजरमा मुख्य कलाकार जितु नेपाल तथा अभिनेत्री नीति शाहलाई चित्रण गरिएको छ । टीजरमा नीतिलाई हात्तीमाथि चढेर बेहुलीको भेषमा सजिएको देखाइएको छ ।
मिनादेवी खड्क, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको फिल्मका निर्देशक वसन्त निरौला हुन् । विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा शंकर धितालको लेखन, सविन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।
फिल्ममा जितु नेपाल, नीति शाह, बुद्धि तामाङ, रमेश वुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायतका कलाकारहरुको अभिनय छ । राजकुमार पण्डितको प्रस्तुतिमा तयार भएको फिल्मले दशैँमा दर्शकलाई पूर्ण रुपमा मनोरञ्जन दिने दावी निर्देशक निरौलाको छ ।