भित्तामा पिसाब फेर्दा जागिर गुम्याे, २० करोड रुपैयाँ क्षतिपूर्ति माग

12 1

भित्तामा पिसाब फेर्दा प्रविधि कम्पनी लेनोभोका एक कर्मचारीको जागिर गुमेको खबर बाहिरिएको छ । अमेरिकाको न्युयोर्क राज्यमा लेनोभोको सेल्सम्यानका रूपमा कार्यरत ६६ वर्षीय रिचर्ड बेकरले टाइम्स स्क्वायर होटेलको लबीमा पिसाब फेरेपछि जागिर गुमाएका हुन् ।

यो घटना गत फेब्रुअरीको हो । एउटा अफिसियल डिनरपछि बेकर आफ्नो होटल फर्किंदै थिए । उनलाई अचानक पिसाब लाग्यो, तर होटलको लबीमा रहेका शौचालय टाढा भएका कारण उनले अर्को तल्लाको एकान्त कुनामा पिसाब फेरे । बेकरको यो गतिविधि एक सहकर्मीले देखेका थिए र तुरुन्तै कम्पनीको एचआर डिपार्टमेन्टमा उजुरी गरे । कम्पनीले पनि कुनै सोधपुछ नगरी उनलाई जागिरबाट निकालिदियो ।

बेकरले आफूलाई जागिरबाट निकालिएकोमा अन्याय भएको महसुस गर्दै कानुनी कारबाही थालेका छन् । उनले लेनोभोको सहायक कम्पनीविरुद्ध ‘न्युयोर्क स्टेट सिटी ह्युमन राइट्स ल’ उल्लङ्घन गरेको आरोप लगाउँदै १५ लाख डलर (करिब २० करोड रुपैयाँ) क्षतिपूर्ति माग गरेका छन् ।

मुद्दामा उनले सन् २०१६ देखि आफूलाई मूत्राशयको समस्या भएको र यसबारे लेनोभोका सहकर्मी तथा प्रबन्धकहरूलाई पहिल्यै जानकारी रहेको बताएका छन् । जागिरबाट हटाइएपछि बेरोजगार बनेका बेकरले आर्थिक क्षतिपूर्तिसँगै मानसिक पीडाको क्षतिपूर्ति पनि माग गरी न्यायको खोजी गरेका छन् । लेनोभोले भने यस विषयमा सार्वजनिक रूपमा कुनै प्रतिक्रिया जनाएको छैन ।

समन्धित समाचार