विराटनगरमा आज राधाकृष्णको रथयात्रा निकालिँदै

4 19

विराटनगरमा आज राधाकृष्णको रथयात्रा निकालिँदैछ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट हरेक वर्ष विराटनगरमा निकालिने रथयात्रामा हजारौं सहभागी हुने गरेका छन् । १९८८ सालमा खटयात्राबाट प्रारम्भ भएको रथयात्रा २०२५ सालबाट रथयात्रा महोत्सवको रूपमा मनाउन थालिएको हो । राधाकृष्णको युगल जोडीसहितको ९३औं संस्करणको रथयात्रा विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिरबाट निस्किएर बजार परिक्रमा गर्दै पुनः मन्दिरमा नै पुगेर समापन हुनेछ ।

राधाकृष्ण मन्दिर परिसरबाट निकालिने रथयात्रा तीनपैनी, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक, महेन्द्रचोक, धरान रोड, बरगाछी हुँदै पुनः मन्दिर परिसरमा पुगेर समापन हुनेछ ।भक्तजनहरूलाई पूजाआजा गर्न सहज हुनेगरी ४३ स्थानमा राधाकृष्णको रथलाई विश्राम गराउने निश्चित गरिएको छ । रथयात्रामा विराटनगर आसपासहित मोरङका विभिन्न स्थानका र भारतको विहारबाट पनि भक्तजन आउने गरेका छन् ।

यात्रामा चलाइने पेगोडा शैलीको रथको लम्बाइ २२ फिट, चौडाइ १४ र उचाइ १८ फिट छ । रथको अग्रभागबाट दायाँ र बायाँ फैलिएका ७५ फिट लम्बाइका लठ्ठा (डोरी) रहने छन् । ती डोरी तान्न भक्तजनहरूको तछाडमछाड हुने गरेको छ ।श्रीकृष्णले महाभारत लडाइँमा रथकै प्रयोग गरेकाले कृष्णको स्मरण रथयात्राले गराउने बताइन्छ ।रथयात्रामा यस पटक ५ लाख बढी भक्तजनको सहभागिता हुने अपेक्षा गरेको  छ ।

समन्धित समाचार