बङ्गलादेशमा अविरल मनसुनी वर्षा र नदीमा आएको बाढीका कारण २० जनाको मृत्यु भएको छ ।
५० लाखभन्दा धेरै मानिस प्रभावित भएका छन् । विशेष गरी दुर्गम क्षेत्रहरूमा बाढीका कारण धेरैलाई खाना, सफा पानी, औषधि र लुगाको तत्काल आवश्यकता परेको तर सडक अवरुद्ध भएकाले उद्धार र राहतमा समस्या भइरहेको स्रोतले जनाएको छ । गएराति मध्यरातमा आएको बाढीले राजधानी ढाकाका ग्रामीण क्षेत्रसहित ११ जिल्ला प्रभावित भएका छन् ।
बङ्गलादेशका केही मानिसहरूले छिमेकी भारतमा बाँधका ढोकाहरू खोल्दा बाढी आएको आरोप लगाएका छन् । तर नयाँ दिल्लीले भने बङ्गलादेशको दाबी अस्वीकार गरेको छ । बङ्गलादेशको मौसम विभागले पानीको सतह नघटेकाले वर्षा नरोकिएमा बाढीको जोखिम कायमै रहेने भएकाले प्रभावित क्षेत्रका बासिन्दालाई सचेत रहेर सुरक्षित ठाउँमा बस्न आग्रह गरेको छ ।