अभिनेत्री नीता ढुंगाना तथा अभिनेता हरिहर अधिकारीले दर्शकमाझ बहुप्रतिक्षित बनिरहेको आफ्नो फिल्म ‘ह्रस्व–दीर्घ’ को यही असोज ३ गतेदेखि हुने भनिएको प्रदर्शन स्थगित गरेका छन् । शुक्रवार बिहान सामाजिक सञ्जालमा एउटा सूचना जारी गर्दै नीता र हरिहरले चन्द्र पन्तद्वारा निर्देशित यो फिल्मको एक महिनापछि हुने प्रदर्शन अर्को सूचना नआएसम्मका लागि स्थगित भएको बताएका छन् ।
निर्धारित प्रदर्शन मिति असोज ३ मा आउने तयारीका बीच हाल मुम्बईमा पोस्ट प्रोडक्सनमा रहेको फिल्मको प्राविधिक टिमबाट फिल्मलाई थप उत्कृष्ट बनाउन विशेषतः प्राविधिक कामहरू सम्पन्न गर्न थप समय लाग्ने भनि केहि समय माग भइ आएकोले उक्त मितिमा ‘ह्रस्व दीर्घ’ प्रदर्शनमा ल्याउन असमर्थ हुने निर्णयमा पुगेका छौं, सूचनामा भनिएको छ– ‘वितरण कम्पनिहरूसँग निरन्तर छलफल र संवाद अघि बढिरहेकोले यथाशीघ्र नयाँ प्रदर्शन मिति सार्वजनिक गर्नेछौं ।’
निर्माण घोषणाको समयदेखि यहाँहरूले बहु–प्रतिक्षित बनाउनु भएको हाम्रो चलचित्र ‘ह्रस्व दीर्घ’ लाई दर्शक, शुभचिन्तक, चलचित्रकर्मी तथा मिडियाकर्मीले दिनुभएको स्नेह र साथप्रति कृतज्ञ छु, फेसबुकमा पोस्ट गरिएको सूचनामा भनिएको छ– ‘नेपाली चलचित्र क्षेत्रमा केहि नयाँ र भिन्न गर्ने सोचले नेपालीसँगै बलिउड र दक्षिण भारतीय चलचित्रका कलाकार र प्राविधिक जोडेर ठूलो जोखिमकाबीच हामी यो चलचित्र निर्माणमा जुटेका थियौं ।’