नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १५औँ महाधिवेशन नियमित समयमा नै हुने प्रतिबद्धता जनाएका छन् ।
काँग्रेस केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा नेता डा. शेखर कोइरालाले महाधिवेशन समयमै नहुने आशंका व्यक्त गरेका थिए । कोइरालाले १५ औँ महाधिवेशन नियमित समयमै हुनुपर्ने जिकिर गरेका थिए । कोइरालाले बोल्दाबोल्दै देउवाले रोकेर भने, ‘महाधिवेशन नियमित समयमै हुन्छ । सार्ने कुरै छैन । सबै एक भएर त्यसमा लागौँ ।’ नियमित समय अनुसार महाधिवेशन हुँदा २०८२ को मंसिरमा १५ औँ महाधिवेशन हुनुपर्दछ ।
नेता डा. कोइरालाले संघ र प्रदेशमा मन्त्री छनोटप्रति असन्तुष्टि जनाएका छन् । दुई ठूला दल (नेपाली काँग्रेस र नेकपा एमाले) सुशासनका लागि एक ठाउँमा आएको भनिए पनि व्यवहारमा त्यस्तो नदेखिएको उनले बताए ।
‘वर्तमान सरकार गठनको सन्दर्भमा नेपाली काँग्रेस र एमालेले सुशासनको धेरै प्रतिबद्धता गरेका छन्’ कोइरालाले भने, ‘तर व्यवहारमा संघ र प्रदेशमा मन्त्रीहरू छनौटले सुशासनलाई जिस्काइरहेको छ । हामी किन यसरी सुशासनको सन्दर्भमा बारम्बार चुक्दैछौँ ?’
गठबन्धनको कारण ठूलो दल भए पनि काँग्रेसको जनाधार खुम्चिएको निर्वाचन परिणामले देखाएको उनले बताए ।





