राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जिल्ला अध्यक्षहरूको भेला गर्ने

15 4

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जिल्ला अध्यक्षहरूको भेला गर्ने भएको छ ।

उक्त भेला यही साउन १७ र १८ गते काठमाडौंमा हुने भएको हो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले यही साउन १७ गते धुम्बाराहीस्थित एसआर बैंक्वेटमा भेलाको उद्घाटन गर्ने कार्यक्रम तय भएको सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार भेलामा ७७ वटै जिल्लाका अध्यक्षले आफ्नो जिल्लाको साङ्गठनिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ । भेलामा पार्टीको समग्र साङ्गठनिक अवस्थाको गम्भीर समिक्षा गरिने तथा विगतका निर्वाचनका कमी कमजोरीको समिक्षा गर्दै आगामी रणनीति तय गरिने सचिवालय प्रमुख महामन्त्री राजेन्द्र गुरुङले बताए ।

पार्टीले लिएका नीति र यसले पार्टी पंक्ति तथा जनसमुदायमा पारेको प्रभावको विश्लेषण तथा केन्द्रीय कार्यसमिति बैठकले आगामी वैशाख मसान्तसम्म स्थानीय तहको अधिवेशन गरिसक्ने लक्ष्य लिएको अवस्थामा सबै तहको अधिवेशन सम्पन्न गर्ने विषयमा पनि निर्णय लिइने उनले जानकारी दिए ।

साथै २०८४ मा हुने तीन तहकै निर्वाचनको तयारीमा अहिलेदेखि कस्तो रणनीति तय हुने भन्ने विषयमा पनि छलफल हुने उनले बताए । उक्त भेलामा पार्टी अध्यक्ष लिङ्देनले पार्टीको नीति, विचार, सिद्धान्तलगायत रणनीति र आगामी कार्ययोजनाबारे जिल्ला अध्यक्षहरूलाई निर्देशन दिनेछन् ।

समन्धित समाचार