सहकारी ठगेर भागेका जीबी राईसहित १८ जनालाई तत्काल स्वदेश फर्काउन गृहमन्त्री रमेश लेखकलाई निर्देशन

15

सहकारीमा भएको रकम दुरुपयोगबारे छानबिन गर्न गठित संसदीय छानबिन समितिले नेपालमा सहकारी ठगेर विदेश भागेकाहरुलाई तत्काल स्वदेश फर्काउन गृहमन्त्री रमेश लेखकलाई निर्देशन दिएको छ ।

आज बसेको समितिको बैठकले गृहमन्त्रीलाई सो निर्देशन दिएको हो । आजको बैठकमा मन्त्री लेखकसहित गृहसचिव एकनारायण अर्याल तथा नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुँवरपनि उपस्थित भएका थिए । पोखराको सूर्यदर्शसहितका सहकारी ठगेर भागेका जीबी राईसहित १८ जनाको सूची मन्त्री लेखकलाई समितिले दिएको छ ।

‘सहकारीको रकम अपचलनमा मुछिएका १८ जनालाई खोज्न, स्वदेश फर्काउन र छानबिन प्रक्रियामा सघाउन गृहमन्त्रीलाई समितिले निर्देशन दिएको छ’, बैठकपछि सभापति सूर्यबहादुर थापाले भने, ‘कारागार र थुनामा रहेका केही व्यक्तिका हकमा सोधपुछ गर्दैछौँ । सोधपुछका लागि जनशक्ति र समयको प्रबन्ध गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।’

सूर्यदर्शनका ज्ञानबहादुर बम्जन, थानबहादुर राई, भुपेन्द्र राई, सानोपाइलाका तस्विरन खातुन र अश्रफ अली, सहारा तथा सुप्रिमका सुवास केसीलाई पनि झिकाउन भनिएको छ । यस्तै सुमेरु सहकारीको रकम अपचमलनमा संलग्न भएको आरो लागेका भरत महर्जन, उनको श्रीमती माजमाया, छोरा सचिन र छोरी सरलालाई पनि तत्काल नेपाल ल्याउन भनिएको छ ।

शिवशिखरका तेजबहादुर बम्जन तामाङ, इमेज सहकारीका अध्यक्ष देवकुमार नेपाली र उनकी श्रीमती छेदा, व्यवस्थापक दिपक पौडेल, शिवशिखर सहकारीका लीलानाथ गौतम, कान्तिपुर सेभिङका प्रेमध्वज लामा र मेघाड्रिमका महाशंकर रेग्मीलाई पनि स्वदेश फर्काउन र छानबिन समितिको दायरामा ल्याउन गृहमन्त्रीलाई निर्देशन दिएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले पीडित लगायत विभिन्न सरोकारवाला निकायहरूसँग छलफल गरिरहेको छ।

सरकारले तीन महिनाको समय दिएर ७ सदस्यीय छानबिन समिति बनाएको छ । समितिमा एमाले सांसद सूर्य थापा सभापति र अन्य ६ जना सदस्य छन् । समितिले भदौं १५ भित्र सरकारलाई आफ्नो प्रतिवेदन पेश गर्नुपर्नेछ ।

समन्धित समाचार