माओवादी केन्द्रका महासचिव देव गुरुङले बीआरआई परियोजनाको प्रक्रिया अगाडि बढ्ने क्रममा सरकार परिवर्तन भएको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित ‘बीआरआई वास्तविकता र भ्रम’ विषयक अन्तरक्रियामा उनले दुई पक्षीय वार्ता भएर बीआरआईको प्रक्रिया अगाडि बढाउनु पर्छ भन्ने चरणमा पुगेपछि सरकार परिवर्तन खेल सुरु भएको बताएका हुन् |
बीआरआईको सन्दर्भमा सबै दलहरु र राज्यका अंगहरुको सहमती जुट्न सक्यो भने मात्रै सम्झौता गर्ने, नभए केही समय पर्खिने भन्ने कुराले गर्दा ढिला हुँदै आइरहेको थियो,’ उनले भने, ‘पछिल्लो समयमा दुई पक्षीय वार्ता भएर जब हस्ताक्षर गर्नुपर्ने, प्रक्रिया अगाडि बढ्ने चरणमा पुगेपछि सरकार परिवर्तन खेल सुरु भयो। सरकार परिवर्तन हुनुको पछाडि बीआरआई रहेको कुरा प्रष्ट छ।’ उनले नेपालभित्र सहमती जुट्न नसकेका कारण बीआरआई परियोजनाको नीतिगत कार्यान्वयन सम्बन्धी प्रस्तावमा सहमती जुट्न नसकेको बताए। उनले बीआरआई परियोजनाको पहिलो चरणको सम्झौता २०१७ मा भइसकेको बताए।
अहिले नीतिगत कार्यान्वयन सम्बन्धी सम्झौता गर्ने चरण अहिले भएको बताउँदै उनले कागजात तयार गर्ने क्रममा नेपालको तर्फबाट सहमति हुँदाहुँदै हस्ताक्षर गर्ने प्रक्रियामा ढिला भइरहेको बताए। नेपाललाई स्वाधिन राष्ट्र बनाउने कि नबनाउने भन्ने प्रश्नसँग बीआरआई परियोजना सम्बन्धित रहेको भन्दै आगामी दिनमा आपसी सहमतिको आधारमा फेरि यो परियोजना अगाडि बढाउन जरुरी रहेको उनको भनाई छ।





