एमाले अध्यक्ष केपी ओली आइतबार चौथोपटक प्रधानमन्त्री नियुक्त हुँदै छन् । सरकार गठनका लागि दिएको समयसीमा सकिएलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नेछन् ।
राष्ट्रपतिले आइतबार साँझ ५ बजेसम्मको समयसीमा दिएर संविधानको धारा ७६(२) अनुसार सरकार गठनका लागि आह्वान गरेका थिए । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्रीमा दाबी पेस गर्ने समय दिएका हुन् । शुक्रबार नै एमाले र कांग्रेसले ओलीलाई प्रधानमन्त्रीको दाबी पेस गरेका छन् ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार आइतबार साँझ समयसीमा सकिएपछि मात्रै नियुक्ति र शपथको प्रक्रिया अगाडि बढाउने तयारी छ । ‘राष्ट्रपतिज्यूबाट सरकार गठनका लागि आह्वान गर्नुभएको समयावधि सकिएपछि मात्र प्रधानमन्त्री नियुक्ति र शपथको प्रक्रिया अगाडि बढ्छ,’ उनले भने । ओलीनिकट स्रोतका अनुसार सोमबार बिहान ११ बजे प्रधानमन्त्रीको शपथ ग्रहण हुनेछ । ‘आइतबार नियुक्ति हुन्छ, सोमबार विहान ११ बजे शपथग्रहणको जानकारी पाएका छौँ, त्यसैअनुसार तयारीमा छौँ,’ स्रोतले भन्यो ।
यसअघि प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेका ओलीको शपथ आइतबार हुने भनिएको थियो । तर, नियुक्तिमा ढिलाइ भएपछि सोमबार शपथको समय निर्धारण गरिएको हो । कांग्रेस सभापति शेरबहादुर देउवा र ओलीबीच आलोपालो प्रधानमन्त्रीसहितको सहमति भएको छ । तर, सहमतिपत्र भने अझै सार्वजनिक भएको छैन ।





