युक्रेनलाई रुसविरुद्ध थप सशक्त बनाउन एटलान्टिक सन्धि संगठन (नेटो)का सदस्य राष्ट्र एकजुट भएका छन्।
शिखर सम्मेलनका लागि अहिले ३२ सदस्य राष्ट्रका नेता अमेरिका पुगेका छन्, जहाँ युक्रेनलाई रुसविरुद्ध कसरी सशक्त बनाउने र सहयोग उपलब्ध गराउने भन्नेबारेमा बहस भएको छ । सम्मेलनमा उनीहरुले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध एकजुट भएको सन्देश दिएका छन्।
यस्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई थप सैन्य सहायता घोषणा गर्नुभएको छ । नेटो सम्मेलनलाई वासिङटनमा सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले युक्रेनलाई थप अत्याधुनिक हतियार दिने घोषणा गर्नुभएको हो।
नेटोमा ३२ देश सदस्य रहेकोमा युक्रेनलाई पनि सदस्य बनाउने तयारी चलिरहेको छ । तर युक्रेनलाई नेटोमा सहभागी गराउने विषयकै कारण रुसले आक्रमण थालेकाले यो विषय थप जटिल हुँदै गएको छ।