४० मेगावाट विद्युत खरिद-बिक्रीका लागि बंगलादेश तयार

बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बीपीडीबी)ले नेपालमा उत्पादित ४० मेगावाट विद्युत खरिद-बिक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत प्राधिकरणलाई पत्राचार गरेको छ। प्राधिकरणले वर्षायामको ६ महिना ४० मेगावाट विद्युत बिक्रीका लागि आफूले पेश गरेको बोलपत्र सम्बद्ध निकायबाट स्वीकृत भएको बीपीडीबीले बताइको जनाएको छ।

बीपीडीबीले विद्युत बिक्री सम्झौताका लागि सोमबार पत्राचार गरेको हो। कानूनमा भएको व्यवस्थाबमोजिम बीपीडीबी २०८० साल पुस १६ मा नेपालबाट उत्पादित ४० मेगावाट विद्युत बंगलादेश, भारत र नेपालका निकायहरुबीचको त्रिपक्षीय सम्झौताअनुसार हुनेगरी पाँच वर्षसम्म खरिदका लागि बोलपत्र (टेण्डर) आह्वान गरेको थियो।

प्राधिकरणले विद्युत बिक्रीका लागि तोकिएको ढाँचामा बिक्री गरिने विद्युतका दरसहितको बोलपत्रसम्बन्धी कागजात पेश गरेको थियो। पेश गरिएका बोलपत्रसम्बन्धी कागजात मूल्याङ्कन गरी त्यसलाई सम्बन्धित निकायबाट स्वीकृत भएको जानकारी दिँदै बीपीडीबीले बोलपत्र स्वीकार गर्ने आशयको सूचना प्राधिकरणलाई दिएको हो।

प्राधिकरणले ७ कार्य दिनभित्र बोलपत्र स्वीकार गरेको लिखित सूचना बीपीडीबीलाई दिनुपर्नेछ। त्यसपछि बीपीडीबीले विद्युत बिक्री सम्झौताको मस्यौदा प्राधिकरणलाई उपलब्ध गराउने छ। मस्यौदा प्राप्त भएको २८ दिनभित्र सम्झौता गर्नुपर्नेछ। प्राधिकरण, एनटीपीसी विद्युत व्यापार निगम (एनभीभीएन), भारत र बीपीडीबीबीच त्रिपक्षीय सम्झौता हुनेछ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाँकी रहेका सम्पूर्ण प्रक्रिया पूरा गरी यही वर्षायामबाट बंगलादेश विद्युत निर्यात गर्नेगरी काम सुरु गरिसकिएको बताए।

त्रिपक्षीय विद्युत बिक्री सम्झौताको मस्यौदामा तीनै निकाय सहमत भइसकेकाले छिट्टै सम्झौता हुनेछ, त्यसपछि बंगलादेश विद्युत निर्यात स्वीकृतिका लागि आयोजनाहरुको सूची भारतको केन्द्रीय विद्युत प्राधिकरणमा पठाउँछौं, नयाँ आयोजना पठाउँदा स्वीकृतिका लागि समय लाग्ने हुँदा यसअघि नै भारतमा विद्युत निर्यात स्वीकृति पाइसकेका आयोजनाहरुबाट उत्पादित विद्युत बंगलादेश निर्यात गर्ने गरी प्रस्ताव स्वीकृतिका लागि पठाउनेछौं’, उनले भने।

प्राधिकरणले भारतीय अनुदानमा निर्माण भएको तथा आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत बंगलादेश निर्यात गर्ने तयारी गरेको छ। यी दुवै भारतमा विद्युत निर्यातका लागि स्वीकृति पाइसकेका आयोजना हुन्।

प्राधिकरणले वर्षायामको ६ महिना अर्थात हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म पाँच वर्ष ४० मेगावाट विद्युत अमेरिकी डलरमा बंगलादेशलाई बिक्री गर्नेछ। प्राधिकरणले बंगलादेश विद्युत बिक्री गरी प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउनेछ।