नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डले आफ्नो समर्थन हुँदा हुँदै नेपाली काग्रेससंग नयाँ गठबन्धन बनाउन पहल गरेको थाहा पाएपछि बाध्य भएर नयाँ समीकरण गर्नुपरेको बताउनुभएको छ।
नयाँ बानेश्वरस्थित संसद भवनमा आज संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले काँग्रेससँग गठबन्धन गरेर नयाँ सरकार बनाउन परेको बिषयमा विफिङ गर्दै यस्तो बताउनुभएको हो ।
बैठकमा अध्यक्ष ओलीले नयाँ बन्ने सरकारले शिथिल भएको अर्थतन्त्रलाई गति दिने समेत बताउनुभयो । उहाँले रोकिएका विकास निर्माणका कामलाई अगाडि बढाउन र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न काँग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउनु परेको ब्रिफिङ गरेको सांसद सूर्य ढकालले जानकारी दिनुभयो ।
अध्यक्ष ओलीले मुलुकमा जबजव मुलुकभित्र र बाहिरका तत्त्वले राष्ट्रिय सङ्कट गराउन थाल्दछ तब तब कांग्रेस र एमालेबीच मिलेर मुलुकलाई अगाडि बढाएको इतिहास रहेको भन्दै २०४६ जनआन्दोलनको स्मरण गर्नुभयो ।
मुलुकमा देखिएको आन्तरिक समस्यालाई सम्बोधन गर्न र राष्ट्रिय स्वतन्त्रता आन्दोलनलाई बलियो बनाउन राष्ट्रिय सहमतिको सरकार बनाउने निष्कर्षमा पुगेको उहाँको भनाईे थियो ।
प्रचण्ड सरकारलाई समर्थन गरिरहेको वेला हामीहरूलाई खबर नै नगरी काँग्रेससँग सरकार बनाउने कुरा गरिरहेको हुनाले हामीले बाध्य भएर काँग्रेससँग सरकार बनाउने निष्कर्षमा पुगेको अध्यक्ष ओलीले बैठकमा जानकारी दिनुभएको भनाई उद्धित गर्दै ढकालले चक्रपथलाई बताउनुभयो । “नयाँ गठबन्धन हाम्रो कारणले होइन प्रचण्डको अस्थिर चरित्रको कारणले अहिलेको नयाँ गठबन्धन बन्न थालेको हो” अध्यक्ष ओलीले भन्नुभयो, “सत्ता गठबन्धन रहेका दलसँग छलफल परामर्श नगरी एकलै हिँड्ने प्रवृत्तिको कारणले नयाँ समीकरण बनाउने ठाउँमा हामी पुग्यो ।”
