लगातारको वर्षाका कारण कैलालीको भजनी नगरपालिकाका स्थानीयहरुलाई उद्दार गरेर सडक छेउमा त्रिपाल मुनि बसाइएको छ।
भजनी नगरपालिका वडा नम्बर ५ स्थित नयाँ बस्ती, धुरी र वडा नम्बर ७ चर्राका बाढी प्रभावित परिवारलाई त्रिपालमा बसाइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।
प्रशासनका अनुसार नयाँ बस्तीका ३० घर, धुरीका एक सय ४१ जना मानिस र चर्राका नौ घरधुरीका ४८ जनालाई सडकमा व्यवस्थापन गरिएको छ।
वडा नम्बर ५ का स्थानीयहरु ठेकी पुल नजिक हुलाकी सडकखण्डमा बसेका छन् भने चर्राका स्थानीयहरु बजारको हुलाकी सडक खण्डको छेउ छाउमा त्रिपाल हाली बसेको प्रशासनका सूचना अधिकारी शिवराज जोशीले बताए।
निरन्तरको वर्षाका कारण कैलालीको बर्दगोरियामा एक जनाको घरमा पूर्ण क्षति पुर्याएको छ। बर्दगोरिया ३ रानिकुण्डा सिविर बस्ने आइतवारि डगौराको काठले बनेको जस्ताले छाएको कच्चि घरमा रुख ढली घर पुर्ण रुपमा क्षति पुगेको उनको भनाइ छ।