पछिल्लो २४ घण्टामा भारतमा बाढीमा डुबेर तीन जनाको ज्यान गएको छ । आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडीएमए) को बाढी रिपोर्ट अनुसार तिनसुकिया जिल्लामा दुई जनाको मृत्यु भएको छ भने धेमाजी जिल्लामा एक जनाको मृत्यु भएको छ ।
योसँगै भारी बर्षापछि आसाममा आएको बाढीमा परी अहिलेसम्म ३८ जनाको ज्यान गएको छ। मङ्गलबार २८ जिल्लाका ११ लाख ३४ हजारभन्दा बढी मानिस बाढीबाट प्रभावित भएकाले राज्यमा बाढीको अवस्था गम्भीर बनेको छ।
प्रशासनले बाढी प्रभावित जिल्लाहरूमा ४ सय ८९ राहत शिविर र वितरण केन्द्रहरू स्थापना गरेको छ जहाँ लगभग २ लाख ८७ हजार मानिसहरूले शरण लिइरहेका छन्। बाढी घरमा पसेपछि धेरै बाढी प्रभावित मानिसहरूले सुरक्षित स्थान, उच्च भूमि, विद्यालय भवन, सडक र पुलहरूमा शरण लिइरहेका छन्। स्थानीय प्रशासन, सेना, अर्धसैनिक बल, एसडिआरएफ र सर्कल अफिसका उद्धार टोलीहरू ठाउँ ठाँउमा उद्धार कार्यमा संलग्न छन्। मङ्गलबार विभिन्न बाढी प्रभावित क्षेत्रहरूबाट लगभग २ हजार ९०० जनालाई उद्धार गरिएको छ।