‘घरज्वाइँ’को ट्रेलर सार्वजनिक

20240617223945 f7496cb1a7d26e734a8a3a00731c949e@filmykhabar.com

यही असार २८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘घरज्वाइँ’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक ४ मिनेट २ सेकेण्ड लामो ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पारेको छ । एउटा गाउँमा शिक्षण पेशा गरिरहेका दयाहाङ राईको त्यहीँकी मगर युवती मिरुना मगरसँग प्रेम बसेपछि आउने आरोह-अवरोहको कथामा ट्रेलर केन्द्रित छ ।

मिरुनाका पिता शिशिर वाङ्गदेलले छोरीसँग विवाह गर्नेले घरज्वाइँ बस्नुपर्ने सर्त राखेपछि दयाहाङले जबरजस्ती समातेर मिरुनालाई आफ्नो घर भित्राउँछन्, जसलाई मगर समुदायमा ‘केटी छोप्ने’ चलन भनिन्छ । तर, शिशिरले छोरीलाई जबरजस्ती घर फिर्ता लिएर आउँछन् । त्यसपछि के मिरुनालाई पाउनका लागि दयाहाङ घरज्वाइँ बस्न राजी हुन्छन् ? फिल्मको ट्रेलरले यसैको जवाफ दिन्छ ।

अनिल बुढा मगरद्वारा निर्देशित फिल्ममा दयाहाङ, मिरुना र शिशिरसहित कविता आले, भोलाराज सापकोटा, पुष्कर गुरुङ, बुद्धि तामाङ, खड्कबहादुर पुन (खबपु), राज थापा, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, विवेश बुढा मगर, सुनिल मगर, सुरेश पुन लगायतको पनि अभिनय छ । मगर समुदायको परम्परा, संस्कार र संस्कृतिमा आधारित भएर फिल्म बनेको हो ।

जिएम मुभिज् र एबीएम सिनेमा प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मका निर्माता जनक घर्ती मगर हुन् । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको फिल्मको कथा पनि निर्देशक अनिल आफैंले लेखेका हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा भने विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् । फिल्ममा सुसन प्रजापतिको छायांकन र कृष्ण भण्डारीको सम्पादन छ

समन्धित समाचार