बाटोमा लत्रिएको बिजुलीको तारबाट करेन्ट लागेर बालकको ज्यान गयो

achham2024 06 25 05 09 33 2

अछाममा करेन्ट लागेर १५ वर्षीय बालकको ज्यान गएको छ। तुर्माखाँद गाउँपालिका–७ तोसीको जंगलमा बाटोमा लत्रिएको बिजुलीको तारबाट करेन्ट लाग्दा रानीवनका बिमल विकको ज्यान गएको हो।

घटनामा उनीसँगै रहेका अर्का १४ वर्षका बालक झंकर विक घाइते भएका छन्। उनीहरू दुवैजना तुर्माखाँद–६ रानीवनका हुन्। स्थानीय कामेश्वरी मावि कक्षा ९ मा अध्ययनरत उनीहरूलाई असार १७ गतेदेखि हुने त्रैमासिक परिक्षाको सामग्री लिन जाने क्रममा बाटोमा लत्रिएको बिजुलीको तारका कारण करेन्ट लागेको थियो।

बाटोमा हिँडिरहेको वेला सुरुमा झंकरलाई करेन्ट लागेको थियो। उनलाई बचाउन जाने क्रममा करेन्ट लागेपछि विमलको मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते बालकलाई उपचारका लागि सदरमुकाम मंगलसेन लगिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए। मृतकका आफन्तले विद्युत् कार्यालयको लापरबाहीका कारण घटना घटेको भन्दै बालकको शव नबुझ्ने बताएका छन्।

तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बिसीका अनुसार स्थानीयले पनि मृतकका परिवारलाई उचित क्षतिपूर्ति र अव्यवस्थित ढंगले बाटोमा तार छाड्ने विद्युत् कार्यालयका कर्मचारीलाई कारबाही नगरेसम्म बालकको शव नबुझ्ने बताएका छन्।

यसबारे प्रमुख जिल्ला अधिकारी र विद्युत् कार्यालयका प्रमुखसहित सम्बन्धित सरोकारवालाहरूबीच छलफल गर्ने तयारी भइरहेको पनि गाउँपालिका अध्यक्ष बिसीले बताए। अहिले मृतकको शव सदरमुकाम मंगलसेन लगिएको छ भने मृतकका आफन्त र स्थानीय जनप्रतिनिधिहरू पनि सदरमुकाम मंगलसेन हिँडेका छन्।

समन्धित समाचार