अछाममा छाउगोठ बसेकी एक किशोरी बलात्कृत भएकी छिन् । अछामको पञ्चदेवल विनायक नगरपालिकाकी १६ वर्षीया किशोरीमाथि सोमबार राति सामुहिक बलात्कार भएको हो । किशोरी बलात्कारको आरोपमा प्रहरीले स्थानीय १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ ।
मंगलबार बेहोस् अवस्थामा भेटिएकी १६ वर्षीया किशोरीमाथि बलात्कार भएको खुलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी सन्तोष पाठकले किशोरीलाई छाउगोठमा बेहोस् अवस्थामा भेटेपछि उद्दार गरेर अस्पताल लगिएको बताए । अछाम जिल्ला अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणमा उनी बलात्कृत भएको पुष्टि भएको थियो ।
उनले स्थानीय १७ वर्षीय किशोरलगायत ३/४ जनाले सामुहिक बलात्कार गरेको बताएकी थिइन् । आँखा र घाँटीमा कपडाले बाँधेकाले अन्य व्यक्तिलाई आफूले चिन्न नसकेको पीडित किशोरीको भनाइ छ । अछाम प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले किशोरी बलात्कृत भएको पुष्टि गरेका छन् । मङ्गलवार बिहान उनको उद्धारमा गएकी नगर प्रमुख अम्बिका चलाउनेको टोलीले छाउगोठ भत्काएको छ ।