राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्ड र जर्मनीको भ्रमण सकेर आज स्वदेश फर्कँदै छन् । उनी जर्मनीको वर्लिनबाट कतारको दोहा हुँदै आज बिहान ९ः४५ बजे नेपाल फर्कने कार्यक्रम रहेको छ ।
राष्ट्रपति पौडेललाई वर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनका लागि नेपालका राजदूत रामकाजी खड्का तथा जर्मन सरकारका उच्च अधिकारीले बिदाइ गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
सोमबार राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति फ्र्याङ्क वाल्टर स्टाइनमायरबीच जर्मनीको वर्लिनमा प्रतिनिधिमण्डल स्तरीय भेटवार्ता भएको थियो । सो अवसरमा दुई देश बिचको सम्बन्ध र आपसी हितका बारेमा छलफल भएको जनाइएको छ । दुई पक्षीय भेटवार्ताअघि राष्ट्रपति पौडेललाई जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको थियो ।
यसअघि साथै स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रलाई गत जेठ ३१ गते राष्ट्रपति पौडेलले मुख्य वक्ताका रूपमा सम्बोधन गरेका थिए
सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो पहिलो भ्रमण भएको बताइएको छ । जर्मनीमा रहँदा राष्ट्रपति पौडेलले आइतबार जर्मनीका विज्ञान प्रविधि तथा अनुसन्धानसँग सम्बन्धित विभिन्न संस्थाहरूको अवलोकन गरेका थिए ।
राष्ट्रपति निर्वाचित भएपछि उनको यो पहिलो औपचारिक विदेश भ्रमण सकेर राष्ट्रपति आज स्वदेश फर्कँदै छन् |