काठमाडौंको गोकणेश्वर नगरपालिकामा भने सूचना माग्नेलाई प्रहरीले पक्राउ गरेको छ । वडा नं. ८ कार्यालयसँग सम्बन्धित सूचना माग गरेको भन्दै उनीहरुलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति सूचनाको हकका लागि राष्ट्रिय महासंघले आपत्ति जनाएको छ ।
वडा कार्यालयसँग सम्बन्धित ज्येष्ठ नागरिक भ्रमण, धार्मिक तीर्थयात्रा जस्ता कार्यक्रममा भएको खर्चको विवरण, सूचनाको हकसम्बन्धी जनप्रतिनिधिले बुझेको भत्ता तथा सुविधाको विवरण र घरबहाल करका विषयमा स्थानीय पत्रकार तथा अभियन्ताहरु अस्मिता खत्री, आदर्श क्षेत्री र राजु सुनारले सूचना माग गर्नुभएको थियो । तर उहाँहरुले माग गरेको सूचना दिन नमिल्ने भन्दै वडाध्यक्ष नन्दलाल श्रेष्ठले सार्वजनिकरुपमै अस्वीकार गर्नुभएको थियो ।
सोही विषयलाई लिएर खत्री, क्षेत्री र सुनारलाई प्रहरीले पक्राउ गरेको महासंघले जनाएको छ । ‘सूचना मागकर्ता अभियन्ताहरुलाई हिरासतमा राख्नुले सूचनाको हकलाई कुण्ठित बनाउनुका साथै राज्यको सुरक्षा निकायसमेत यस्ता अनियमिततालाई प्रशय दिएको स्पष्ट दिएको देखिन्छ ।’ महासंघले भनेको छ ।
महासंघले घटनाको यथाशीघ्र छानबिन गरी घटनामा संलग्न दोषी पदाधिकारीहरुमाथि यथाशीघ्र कानूनी कारबाही अघि बढाउनसमेत राष्ट्रिय सूचना आयोगको ध्यानाकर्षण गराएको छ ।