शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राजनीतिक दलको सदस्यता लिएका ८२५ शिक्षकले सदस्यता त्यागेको बताएकी छन् । आज मन्त्रालयमा आफ्नो १०० दिनको उपलब्धी सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले सो तथ्यांक प्रस्तुत गरेकी हुन् ।
शिक्षामा दलीय राजनीति हुनुहुँदैन भनेर सुरु गरेको काम भएपनि सबै बाट साथ समर्सथन नमिल्दा संतोसजनाका काम गर्न नसकिएको उनको भनाइ छ । ‘तर यो सुरुवात हो, यो गर्नुपर्ने काममा छ । यो काम गर्नको लागि सबैले सहयोग गर्नुभयो भने चाँडै हुन्छ । यो सरकारको मात्रै हो भन्यो भने गाह्रो हुन्छ’, मन्त्री श्रेष्ठले भनिन् ।
मन्त्रालयले निर्वाचन आयोगसँग दलमा आवद्ध शिक्षकहरुको तथ्याङ्क माग गरेपनि प्राप्त नभएको मन्त्री श्रेष्ठले बताइन् । उनले हाल संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक कहिले पारित हुन्छ भनेर आफूले भन्न नसक्ने बताइन् ।
‘हामी कार्यपालिकामा छौं । विधेयक व्यवस्थापिकामा छ । मौखिक र लिखित रुपमा चाँडै ल्याउन आग्रह गरिसकेका छौं । समितिले हरेक प्रदेशमा गएर छलफल गर्ने कुरा भएको थियो । समितिले त्यो काम गरिरहेको छ भन्ने लाग्छ । तर विधेयक अहिले आउँछ भन्ने प्रश्न सोधिन्छ । त्यो चाहिँ मेरो हातमा छैन’, उनले भनिन् ।