भारतको राजधानी नयाँ दिल्लीका धेरै क्षेत्रमा गर्मी बढ्नुका साथै पानीको पनि संकट उत्पन्न भएको छ । कैयौं इलाकामा मानिस बिहानदेखि डिब्बा र पाइप लिएर पानीको ट्यांकरको पर्खाइमा बसिरहेका छन् । कुनै ट्यांकर नजिक पुगेमा त्यसमा पानी भर्नको लागि कुदाकुद हुने गरेको छ ।
देशका कैयौं क्षेत्रमा बढिरहेको गर्मीका कारण यो पटक ‘रेकर्ड ब्रेक’ गर्ने अवस्था उत्पन्न भएको छ । गर्मी र हिटवेभका कारण मानिस ठूलो समस्यामा छन् ।
यद्यपि, पानीको अभावका कारण दिल्लीको ठूलो क्षेत्रको जीवन अस्तव्यस्त भएको छ । पानीका लागि मानिस तनावमा परिरहेको जनाइएको छ । दिल्लीको मुनक नहर र वजीराबाद पन्ड दुवै स्रोतमा पानीको कमी भएका कारण वाटर ट्रिटमेन्ट प्लान्टमा पिउने पानीको उत्पादन कम भइरहेको छ ।
दिल्लीमा एक हप्ताबाट पिउने पानीको उत्पादन लगातार कम भइरहेको जनाइएको छ । प्रभावित क्षेत्रमा पानीको आपूर्तिका लागि दिल्ली जल बोर्डले पानीका कैयौं ट्यांकर तयारी अवस्थामा राखेको छ । तर, आवश्यकता पूरा हुन सकेको छैन ।