अफगानिस्तानको तालिवानका महत्त्वपूर्ण नेता सिराजुद्धिन हक्कानीलाई अमेरिकाले ‘अन्तर्राष्ट्रिय आतंकवादी’ घोषित गरेको धेरै भइसकेको छ । साथै, उनको बारेमा कुनै पनि जानकारी दिनेलाई १० मिलियन डलरको इनाम समेत तोकिएको छ । यद्यपि, हालै हक्कानीले अबुधानीमा संयुक्त अरब इमिरेट्स (यूएई)का नेता बिन जैदसँग भेटघाट गरेका छन् ।
यसबाहेक साउदी अरेबियामा हजको सन्दर्भमा पनि उनको भिडियो सार्वजनिक भएको छ । अफगानिस्तानमा तालिवान सरकारका गृहमन्त्री हक्कानी अघिल्लो हप्ता यूएई पुगेका थिए । सार्वजनिक रूपमा २०२१ मा तालिवानले अफगानिस्तानको सत्ता सम्हालेपछि यो उनको पहिलो विदेश भ्रमण मानिएको छ ।
अबुधाबीको बीच प्यालेसमा हक्कानीले यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जैद अल नह्यानसँग आफ्नो शिष्ट मण्डलका साथ भेटघाट गरेका थिए । अफगान शिष्टमण्डलमा जनरल इन्टेलिजेन्सका प्रमुख अब्दुल हक बसिक पनि सामेल थिए । यूएईको न्युज एजेन्सी डब्ल्यूएएमका अनुसार यूएईका राष्ट्रपतिले अफगान गृहमन्त्री हक्कानीको नेतृत्वमा अफगान शिष्टमण्डलका साथ दुई देशबीच राम्रो सम्बन्ध र सहयोगलाई बढावा दिने र साझा हितबारेमा कुराकानी भएको थियो ।
‘खलिफा साब’ समेत भनिने हक्कानी मुजाहिद्धिन वा हक्कानी नेटवर्कका संस्थापक मौलवी जलालुद्धिन हक्कानीका पुत्र तथा वारेस हुन् । अमेरिकामा सेप्टेम्बर ११ को हमलाको केही समयपछि बिमारी तथा बढी उमेरका कारण जलालुद्धिनले सिराजुद्धिनलाई आफ्नो वारेस बनाएका थिए । सोही समयदेखि उनी हक्कानी नेटवर्कका प्रमुख हुन् । आफ्नो पिताको वारेस भएका कारण उनलाई खलिफा साब भनिने गरेको हो ।