कुवेतमा मजदुरहरू बस्ने ६ तल्ले घरमा आगलागी हुँदा मृत्यु भएका ४९ जनामध्ये ४० जना भारतीय रहेको खुलेको छ।
बुधबार बिहान मन्गाफ जिल्लामा मजदुरहरूको आवासीय भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ४९ जना पुगेको र तीमध्ये ४० जना भारतका रहेको पुष्टि भएको छ। उनीहरू केरल र तामिलनाडुका रहेको पनि खुलेको छ।
भवनमा डेढसय भन्दा बढी मजदुरहरू बस्थे। अधिकांश तेल कम्पनीमा काम गर्ने केही मजदुरहरू बस्ने बताइएको छ। केही आगो फैलिनुभन्दा अगाडि नै भाग्न सफल भएका र केहीलाई घाइते अवस्थामा उद्धार गरिएको बिबिसीले जनाएको छ।
उक्त भवनमा नेपालका पाँच मजदुर पनि रहेको बताइएको छ।
कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालले पाँचमध्ये तीन जना घाइते भएको र दुई जना सुरक्षित रहेको बिबिसीसँग बताएका छन्।
उनले घाइतेहरुको अवस्था बुझ्न दूतावासको टोली अस्पताल पुगेको पनि बताएका छन्।