आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले भोलि विहान बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।
वेष्ट इण्डिजको सेन्ट भिन्सेन्टस्थित आरनोस भेल स्टेडियममा भोलि विहान सवा ५ बजे हुने खेल बंगलादेशका लागि निकै महत्वपूर्ण छ।
बंगलादेशलाई सुपर ८ मा पुग्न नेपाललाई हराउनैपर्ने दबाब रहेकाले भोलिको खेल उसका लागि गर या मरको अवस्था छ। सुपर ८ को दौडबाटै बाहिरिसकेकाले नेपालका लागि यो खेल प्रतिष्ठाको लडाइँ मात्रै हुनेछ।
बंगलादेशको अहिले २ खेलमा ४ अंक रहेको छ र समूह डी मा तेस्रो स्थानमा छ। यो समूहमा नेदरल्याण्ड्स पनि सुपर ८ को दौडमा कायम रहेको छ।
भोलि विहान हुने नेदरल्याण्ड्स र श्रीलंकाबीचको खेल नेदरल्याण्ड्सले जितेमा र बंगलादेश नेपालसँग पराजित भएको अवस्थामा नेदरल्याण्ड्स सुपर ८ मा पुग्नेछ।
काठमाडौं महानगरपालिकाले आईसीसी टी–२० विश्वकपअन्तर्गत नेपाल र बंगलादेशबीचको खेल पनि लाइभ गर्ने भएको छ ।
सोमबार बिहान ५:१५ बजे हुने तय भएको खेलको लाइभ चाबहिलको गणेशस्थान फुटबल ग्राउन्ड र हाँडीगाउँको सानो गौचरनबाट गरिने महानगरले जनाएको छ ।