दक्षिण अफ्रिकासँग नेपाल एक रनले पराजित

kj3l

आईसीसी ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध ऐतिहासिक जित निकाल्नबाट नेपाल एक रनले चुकेको छ । शनिबार वेस्ट इन्डिजका सेन्ट भिन्सेन्टस्थित आर्नोस मैदानमा सम्पन्न खेलमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ११६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११४ रनमात्र बनाउन सक्यो । नेपाल पहिलो पटक टेस्ट राष्ट्रविरुद्ध जित नजिक पुगे पनि एक रनले निराश बनेपछि ऐतिहासिक नतिजाबाट चुकेको हो ।

खेलको १७.२ ओभरमा ९९–३ को अवस्थाबाट १८.२ ओभरमा पुग्दा नेपालले ६ विकेट गुमाएपछि दबाब थपिएको थियो । १९औँ ओभरको चार बलसम्म एक विकेट गुमाए पनि नेपालले रन जोड्न सकेको थिएन । तर, पाँचौं बलमा सोमपाल कामीले छक्का प्रहार गर्दै नेपालको दबाब कम गरेका थिए । सोही ओभरको अन्तिम बलमा दुई रन लिएपछि नेपाललाई जितका लागि अन्तिम ओभरमा आठ रनको आवश्यकता थियो ।

दक्षिण अफ्रिकाका कप्तान आइदेन मार्करमले २०औँ ओभर ओट्नेल बार्टमानलाई थमाएका थिए । बार्टमानले पहिलो दुई बल डट फ्याँके । तर, तेस्रो बलमा चौका प्रहार गर्दै गुल्सन झाले नेपालको जित सम्भावना कायम राखेका थिए । चौथो बलमा गुल्सनले दुई रन लिए । जितका लागि अन्तिम बलमा दुई रन हुँदा गुल्सनले बललाई ब्याटसँग कनेक्ट गराउन सकेनन् । एक रनका लागि दौडिए पनि ‘नन स्ट्राइक एन्ड’मा गुल्सनले ब्याट लाइनपार गराउन नसक्दा नेपाल एक रनले स्तब्ध बनेको हो ।

समन्धित समाचार